चौतारा — चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं ११ ले विगत तीन वर्षको समिक्षा र आगामी दुई वर्षको योजना तर्जुमा सहित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडाले आयोजना गरेको कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा वडाले भैंसी, बाख्रा र बोका वितरणजस्ता पशुपालनका कार्यक्रममार्फत निम्न आय वर्गलाई आत्मनिर्भर बनाउने प्रयास गरेको अध्यक्ष रोशन राज गिरीले बताए । साथै, माझी समुदायमा गलैंचाको तान वितरण गरी आयआर्जनसँग जोडिएको कार्यक्रम सञ्चालन गरिएको थियो, जसले सहभागीहरुबाट प्रशंसा पायो ।
सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरुले खानेपानी तथा सिचाइका लागि पाइप, र गोरेटो बाटो निर्माणजस्ता आधारभूत पूर्वाधार योजनाको माग समेत गरे । कार्यक्रममा वडाले सुरु गरेको रिचार्ज पोखरी निर्माण, बन्यजन्तु नियन्त्रणका लागि बँदेल नियन्त्रणको तारजाली जडान, र डडेलो नियन्त्रणका लागि झाडी सफाइजस्ता वातावरणीय योजनाहरु प्रभावकारी रहेको नगरपालिका उपप्रमुख सिता थापाले बताईन् ।
वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख कृष्ण प्रसाद सापकोटा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा वडाले विगत तीन वर्षमा गरेका विकास निर्माणका कार्यहरू, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका क्षेत्रहरूमा हासिल उपलब्धिको समीक्षा प्रस्तुत गरिएको थियो । साथै, सहभागी नागरिकहरूले आगामी नीति तथा कार्यक्रमहरूमा आफ्ना सुझाव, गुनासा र आवश्यकता व्यक्त गरेका थिए ।
वडाले आगामी योजनामा सामुदायिक सहभागितालाई अझ मजबुत बनाउँदै स्थानीय आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष रोशन राज गिरीले प्रतिबद्धता व्यक्त गरे ।