चौतारा । “छोरी बिरामीले थलिएकी छन्, अस्पताल लैजाँदा खल्ती रित्तियो, अनि घर फकाएर ल्याएको थिए । अब बिमा कार्ड पाएको छु । लगेर उपचार गर्छु ।” हातमा स्वास्थ्य विमा कार्ड बोकेर अनुभव सुनाउँदै गर्दा सिन्धुपाल्चोक कुविण्डेकी चरिमाया सुनार निकै भक्कानिन । चौतारा साँगाचोकगढी नगरपालिकाले गरिदिएको निःशुल्क स्वास्थ्य बिमाले चरिमाया जस्ता सयौं निम्न वर्गीय परिवारले ‘स्वास्थ्य सेवा’ पहुँच योग्य भएको अनुभव गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाको नेतृत्वले ‘स्वास्थ्य पहुँच सबैका लागि’ भन्ने नारालाई व्यवहारमा उतारेको छ । नगरपालिकाबाट जनयुद्ध र जनआन्दोलनमा घाइते, सहिद तथा बेपत्ता परिवारले निःशुल्क बिमा पाउछन् । दोस्रो प्राथमिकतामा दीर्घ रोगी, सबै प्रकृतिका अपांगता–अशक्त र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिमा उपलब्ध गराउदै आएको छ । त्यसैगरी, तेस्रो प्राथमिकतामा दलित परिवार, सीमान्तकृत समुदायमा माझी, दनुवार र पहरी, ६० वर्षमाथिका ज्येष्ठ नागरिक र नगरभित्र रहेका खेलाडी परेका छन् । १६औँ नगरसभाले अत्यावश्यक समुदायका मानिसलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति पारित गरेको हो । यो संगै उनिहरुको धमाधम पहिचान गरी विमा कार्ड वितरण सुरु भएको हो । यसको सुरुवात बिहिबार चौतारा साँगाचोकगढी नगरपालिका ४ नम्बर वडा कार्यालयले गरेको वडा अध्यक्ष कुमार शर्माले बताए ।
नगर प्रमुख कृष्ण प्रसाद सापकोटाका अनुसार स्वास्थ्य सबैको अधिकार हो भन्ने संविधानको मर्मअनुसार सेवा पहुँच विहीन समूहलाई लक्षित गरी यो योजना सुरु गरेका हो । नगरभित्रका सबै वडाका जनप्रतिनिधिहरूले सहकार्य गरेपछि करिब २३ सय बढी व्यक्तिको स्वास्थ्य बिमा गरिदिएको छ ।
सरकारको स्वास्थ्य बिमा बोर्डमार्फत सञ्चालनमा रहेको यो योजनामा नगरपालिकाले लाभग्राहीको तर्फबाट प्रत्येक जनाको वार्षिक बीमा प्रिमियम ३५०० रुपैयाँ तिरिदिएको छ। यस बिमाले लाभग्राहीले देशभरका सहभागी अस्पतालहरूबाट वर्षको १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क गराउन सक्छन् । चौतारा साँगाचोकगढी नगरपालिकाको यो कदम न केवल स्वास्थ्य सेवा सुधार तर्फको पाइला हो, यो सामाजिक न्याय र समावेशी विकास तर्फको सशक्त प्रतिबद्धता पनि हो । जब राज्यको सेवा सबल हुन्छ, तब नागरिकको विश्वास बलियो हुन्छ ।