काठमाडौं । तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएपछि कफ्र्यु जारी गरिएको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा प्रर्दशनकारीहरुले आगजनी गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कफ्र्यु आदेश जारी गरेको हो ।
आजै राति १० बजेसम्म कफ्र्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । प्रहरीकाअनुसार सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कफ्र्यु लगाउने निर्णय गरिएको हो । गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कफ्र्यु लगाउने निर्णय भएको हो।
कोटेश्वरस्थित जडिबुटी कारखानामा राजावादीले आगो लगाएका छन्। तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका हुन्। राजावादीले जडिबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका आधा दर्जन सवारी साधन जलेर नष्ट भएका छन्। आगो अझै नियन्त्रणमा आएको छैन।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा शुक्रबार राजावादीहरूले प्रदर्शन र सभाको आयोजना गरेका थिए। तर सभा सुरू हुनुपूर्व नै प्रहरीसँग मुठभेडमा उत्रिएपछि तीनकुने क्षेत्रको प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो।
उत्तेजित राजावादीहरूले सञ्चार गृह र निजी घरमा समेत निशाना बनाएका थिए। तीनकुनेको निजी घरमा तोडफोड र आजजनी गरेका राजावादीले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टमा समेत तोडफोड र आगजनी गरेका थिए। त्यसपछि उनीहरूले एकीकृत समाजवादीको मुख्यालयमा समेत आगजनी गरेका थिए।
राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोडबो प्रयास गरेका छन् । प्रर्दशनकारीहरुले उनीहरूले तीनकुनेका विभिन्न घरभवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।
अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास समेत भएको छ । कोटेश्वरको भाटभटेनीमा समेत तोडफोड भएको छ । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले बताउनुभयो ।
प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरेका छन् । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ । यसैबिच, प्रदर्शनकारीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा समेत तोडफोड गरेका छन् ।