चौतारा । पत्रकार महांसघ सिन्धुपाल्चोकका पुर्व अध्यक्ष जिवन प्रसाद श्रेष्ठ आफ्नो फेसबुक पेजमा लेख्छन्, ‘ विद्यालय व्यवस्थापन समिती खारेज गरौं । दल व्यवस्थापन समिति गठन गरौँ ।’ हुन पनि विद्यालयमा आफ्नो स्वार्थ साँध्न छाडेर दलहरुले पठनपाठन प्रभावकारी बनाउन एकताबद्ध भएर भूमिका खेल्नुपर्ने हो । तर दलहरु आफ्नो जिम्मेवारी पूरा गर्न छाडेर विद्यालय व्यवस्थापन समिति कब्जा गर्ने अस्वस्थ होडबाजीमा लाग्ने गरेका छन् ।
यस्तै रोग सिन्धुपाल्चोकको सबैभन्दा पुरानो विद्यालयमा शनिबार भएको विद्यालय व्यवस्थापन समिति छनोटमा देखिएको छ । प्रमुख राजनीतिक दलहरु प्यानल बनाएर होमिएको निर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । श्री कृष्ण रत्न गंगा मा विमा आज भएको विव्यस छनोटमा पार्टी निकटका उम्मेदवारलाई जिताउनका लागि प्रमुख राजनीतिक दलहरुले विज्ञप्ति निकालेर सबै मतदाताहरूलाई अनुरोध गर्नुका साथै शिर्ष नेतृत्वको खुल्ला नाच विद्यालय क्षेत्रमा देखियो । विद्यालय व्यवस्थापन समितिको निर्वातन हेर्दा स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको झल्को आएको प्रतिक्रिया स्थानीयले दिएका छन् ।
उम्मेदवारले प्रत्येक मतदाताको हातमा पर्चा र पम्पलेट बाँड्दै, मत दिन आग्रह गर्दै घरदैलो समेत गरे । उम्मेदवारका पछि–पछि कार्यकर्ता घुम्दै र मत माग्दै गरेको दृष्य समेत देखियो । साढे दुइ वर्ष अघि भएको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको झल्को आएको एक स्थानीयको प्रतिक्रिया थियो ।
श्री कृष्ण रत्न गंगा मा विमा आज भएको विव्यस छनोटमा सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसका निमेश श्रेष्ठ नेतृत्वमा उम्मेदवार थिए । त्यस्तै माओवादी केन्द्र र समाजवादीको दलको तर्फबाट ईश्वरीप्रसाद श्रेष्ठ नेतृत्वमा उम्मेदवार भएका थिए । एमाले र कांग्रेसबाट अध्यक्षमा उम्मेदवार भएका श्रेष्ठको प्यानलबाट सदस्यहरुमा विन्दा पुरी,निमा ग्याल्जेन लामा र लजिता श्रेष्ठ उम्मेदवार हुन् । त्यस्तै माओवादी र समाजवादीबाट उमेदवार भएका ईश्वरीप्रसाद श्रेष्ठको प्यानलबाट राजन बुढाथोकी,लक्ष्मी श्रेष्ठ र निर्मला श्रेष्ठ रहेका छन् ।
एमाले निकट निमेश श्रेष्ठलाई कांग्रेसको सहयोग रहेको छ । माओवादी र समाजवादीको सहयोगमा अध्यक्षमा उमेदवार दिइएका ईश्वरी प्रसाद श्रेष्ठ पनि एमाले कै नेता हुन् । एमालेको आधिकारीक उम्मेदवार निमेश श्रेष्ठ भएको नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाले विज्ञप्ति मार्फत जानकारी दिइएको थियो ।
सिन्धुपाल्चोकको सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी रहेको कृष्ण रत्न गंगा माविमा विव्यस छनोटमा १३ सय ८८ अभिभावक रहेकोमा ८ सय ६४ जनाले मत हालेका थिए । चार जना सदस्य निर्वाचनबाट छनोट भएपछि नगरपालिकाबाट मनोनीत हुने,विद्यालयका प्रधानध्यापक लगायत सदस्यहरूबाट अध्यक्ष छनोट हुने छ ।
त्यस्तै स्वतन्त्र घण्टीबाट अध्यक्षमा रविन श्रेष्ठ र स्वतन्त्र उम्मेद्वार संसार श्रेष्ठ पनि चुनावमा छन् । दुवै उमेदवारहरूले आफूहरु स्वतन्त्र भएको बताएका छन् । जिल्लाका जेष्ठ र सबैभन्दा बढी अभिभावकहरु भएको विद्यालयको नेतृत्व आफूहरुको पक्षमा पार्नका लागि प्रमुख राजनीतिक दलका नेताहरु नै मैदानमा नाङ्गो नाच देखाएका छन् ।
केन्द्रीय सत्तामा एमाले र कांग्रेसबीच गठबन्धन भएपछि सिन्धुपाल्चोकमा पनि सबै क्षेत्रमा कांग्रेस र एमालेबीच सहकार्य हुँदै आएको छ , पत्रकार महासंघ,स्ववियु लगायतका संघ संस्थाहरुमा कांग्रेस र एमालेबीच सहकार्य हुँदै आएको छ ।