चौतारा । बन्देउ चौतारा सडक अन्तरगत आरुखर्क मोडमा आईतबार वन डढेलो नियन्त्रण गर्न पूर्व तयारी अन्तर्गत स्थलगत नमुना अभ्यास संगै डँडेलो नियन्त्रण कार्य सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ को आयोजनामा वनदेउ ठुलोपातल सामुदायिक वन समुहमा स्थलगत नमुना अभ्यास गराइएको हो ।
वडा भित्र पर्ने बन्देउ चौतारा सडक, अरनिको राजमार्ग, मध्यपहाडी राजमार्ग जस्ता ठुला राजमार्गमा सवार सवारी साधन र यात्रुहरुको गतिविधि र असावधानी बाट सुरु हुन सक्ने डँडेलो जन्य कार्य नियन्त्रणको लागी सडक आसपास नियन्त्रित डँडेलो कार्य सुरु गरिएको वडा अध्यक्ष रोशन गिरीले बताए ।
सडक आसपास जम्मा भएको पतकर, दाउरा संकलन गरेर नियन्त्रित डढेलो लगाउनुका साथै झाडि सफाई र अग्नी रेखा सफाइले यो क्षेत्रमा गत वर्ष डँडेलो नलागेको अध्यक्ष गिरीले बताए । सुख्खा मौसम बढ्दै जाँदा लाग्ने डढेलोबाट जोगिइन र नियन्त्रणमा लिन यो तयारीले काम लाग्ने डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका वन अधिकृत शंकर राज गिरीले बताए ।
वन क्षेत्रमा आगलागी नियन्त्रणको लागी जुटेका वडालाई सहजिकरण गर्न डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले हरित स्वयमसेवक परिचालन गरेको छ । तालिम प्राप्त हरित स्वयमसेवक समुहले डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई सहयोग गर्ने हरित स्वयमसेवक टिम लिडर शारदा चालिसेले बताए ।
गर्मी र सुख्खा मौसमसँगै डढेलो लाग्ने क्रम बढ्ने हुदा यसबाट महत्वपूर्ण जडीबुटी, वन्यजन्तु र करोडौंका रुख बिरुवा नोक्सान हुने गर्छ । सामुदायिक वनका उपभोक्ता, सर्वसाधारण नागरिकहरु डढेलोको सिजन सुरु भएसंगै नियन्त्रित डढेलो अभ्यासले डढेलो लाग्नै नदिने र यदि लागी हालेमा भयावह अवस्था नबन्ने बताउछन् ।