सिन्धुपाल्चोक । बलेफी गाउँपालिका, डाडागाँउका बासिन्दाहरूले पुस्तौँदेखि प्रयोग गर्दै आएको पानीका मुहानहरू सुक्दै गएपछि भुकम्प पछि खानेपानीको चरम अभाव झेल्नुपर्यो । मुहानमा पानी सुकेपछि दुई घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनु उनीहरूको दैनिकी बन्यो । अहिले लिफ्टीङ प्रविधिबाट पानी उपभोग गर्नुपरेको छ ।
आठ–दश वर्ष अघिसम्म डाडागाँउमा नियमित पानीको मुहान थियो । भैँसी खेल्ने आहाल, मान्छेका लागि धारा, कुवा थिए । हरियाली थियो । जीवन आनन्द थियो । आफ्नो गाउँको सुखी र विगतलाई यहाँका बुढापाकाहरुझलझली सम्झन्छन् ।
७६ वर्षीया मंगले तामाङ विगत सम्झिँदै भन्छन्, “यहाँ तीन वटा आहाल थियो । चैत वैशाखमा पनि धारामा नुहाउने दुनियाँ मान्छे हुन्थे । गतिलो चहुर थियो । अहिले त्यो चौर पनि सानो हुदै आयो । बाटो खनेर माटो हालिदिने, उता भवन घर बनाउने के के गर्दा गर्दै पानी पनि त्यसै सुक्दो रैछ । मैले त केही बुझ्न सकेको छैन । आँल जोगाउने कुरामा युवालाई त सोच नै छैन नि, अब त्यसै हराएर जान्छन् जस्तो लाग्छ । उभिएर नुहाउन हुने दुई वटा धारामा गलल पानी आउँथ्यो । त्यो च्याप्प सुक्यो ।”
पानीको अभावमा दैनिक पानी बोक्दा स्वास्थ्यमा जटिल समस्या स्थानिय अझ महिलाहरुले भोग्नु परेको छ । बलेफी डाडागाँउकी मान्जी तामाङले आफ्नो पीडा सुनाउँदा आशु थाम्न सकिनन् । रुँदै उनले भनिन्, “म त मरेर बाचेको । सात–सात महिनाको मेरो ३ वटा बच्चा खेर गएको हो । बोक्नु पर्छ उ त्यत्रो त्यत्रो बाल्टिन । सबैको दुख यस्तै छ । कमजोरी भए । पाठेघरमा घाउ भएर औषधी खादै ठिक हुन्छ । गाह्रो हुन्छ नि । पानी बोकेर ल्याउँदा त आङ झर्ला जस्तो हुन्छ । बस्यो आराम ग¥यो केही हुँदैन ।”
बढ्यो पहाडमा पानीको मूल सुक्ने क्रम
पछिल्ला वर्षहरूमा सिन्धुपाल्चोकका बलेफी, सुनकोसी, ईन्द्रावती, चौतारा, साँगाचोकगढी, मेलम्ची,बाह्रविसे,लिंसखुपाखर जस्ता पहाडी भूभागमा मूल सुक्ने समस्या गम्भीर रूपमा बढेको छ । सुक्खायाममा यी ठाउँहरूमा बर्सेनी मुहान सुक्दा र पानीको मात्रा घट्दा स्थानीयले आर्थिक, सामाजिक, जनस्वास्थ्य लगायतका समस्या बेहोर्नुपरिरहेको छ । अब पनि पानीका परम्परागत स्रोत ताल र आहालहरुकोसंरक्षण नगर्ने हो भने समस्या झन कहालीलाग्दो बन्दै जाने निश्चित छ ।
यस परिस्थितिबाट जलबायु परिवर्तनको असरका क्षेत्रमा काम गर्दै आएका जानकारहरू चिन्ता व्यक्त गर्छन् । विज्ञ मधुसूदन सापकोटा भन्छन् , “हाम्रा बस्ती नजिकका पानीका स्रोतहरू पोखरी, दह, तालजस्ता आकाशे पानी जम्मा गरेर जमिनमुनि पानी पठाउने परम्परागत संरचनाको विनाश हुँदा निरन्तर पानी आउने मुहान सुक्दै गएका छन् । पानी मुहानको संरक्षण गर्न तथा परापूर्व कालदेखिका मूल, कुवा, पँधेराको मर्मत सम्भार तथा संरक्षणमा भने स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन । पोखरीको संरक्षणबाट पानीको मूललाई जोगाउनकै लागि भनेर स्थानीय तहले कार्यक्रम बनाउन सकेका छैनन् । पुराना पोखरी पुनः स्थापना, आकाशे पानी सङ्कलन, मूल पुनर्भरणका कार्यक्रम सुरुआत कतै कतै गरे पनि महत्त्वपूर्ण पुनर्भरण क्षेत्रको पहिचान गरी प्रभावकारी कार्यान्वयन अघि बढाएको भने पाइँदैन ।”
आस्था र विश्वाससँग जोडिएका पोखरी
सिन्धुपाल्चोकमा रहेका २४ वटा हिमताललाई गणना नगर्ने हो भने ५१ वटा ताल र पोखरीहरू अझै कायम छन् । यी पोखरीहरू अहिलेसम्म संरक्षित रहनुका पछाडिको कारण स्थानीयको आस्था र विश्वास जोडिनु पनि हो । पाँच पोखरी थाङपाल गाउँपालिका स्थित रैथाने गाउँमा शिवको इतिहाससँग जोडिएको प्राचीन पोखरी छ । यो पोखरी कति पुरानो हो भन्ने कुनै तथ्याङ्क छैन । तर यात्राको क्रममा भगवान शिवलाई प्यास लागेपछि यहाँ कुण्ड स्थापना गरी पानीको मूल फुटाएपछि पोखरी बनेको भन्ने किवदन्ती प्रचलित छ ।
यो पोखरीबाट उत्तर दिशामा दूधको रङ्ग जस्तो पानी निकास हुन्थ्यो, जुन खेती बालीमा सिँचाइका रूपमा प्रयोग हुन्थ्यो । पश्चिम दिशामा निकास हुने सङ्लो पानी नुहाउन खाना प्रयोग गरिन्थ्यो भने पूर्व दिशामा रगत जस्तै रातो पानी निकास हुन्थ्यो भन्ने बुढापाकाको कथन छ । पोखरीसँगै शिव पार्वतीको मन्दिर पनि छ । लामा र झाँक्रीले रैथाने पोखरीमा आएर हाछिँउ नकाटेसम्म उनीहरू पूर्ण हुँदैनन् भन्ने मान्यता स्थानीय समुदायमा छ ।
कुनै अनिष्ट भए वा सपना नराम्रो देखेमा यहाँका बासिन्दा पोखरीमा दूध चढाउन आइपुग्छन् । ८४ वर्षीया खीलबहादुर खड्का पोखरीको महिमा सुनाउँदै भन्छन्, “हाम्रो सिन्धुपाल्चोक एरियामा यो एउटा शक्तिशाली पोखरी हो । यो ठाँउमा मूल कहिले पनि सुक्दैन । यही पोखरीको पानी तल तल छिरेर मूल निस्कन्छ । तल ढाँडमा पनि पानी निस्कन्छ । यो पोखरीको पानी प्राचीन कालदेखि सुकेको छैन । जति पोखरी भरिन्छ तल तल पानी बुल बुल गरेर मूल फुट्छ । मेरो बाउ बाजे देखिको मैले थाहा पाए देखिको पोखरीको संरक्षण हामीले गरेका हौ । बिहान बिहान आएर घुम्छौ, घण्टी बजायो, ओम नव सिवाय भन्यो ।”
पाँच पोखरी थाङपाल क्षेत्रमा पोखरी संरक्षणकै कारण धार्मिक पर्यटक बढेका छन् भने पोखरीभन्दा तल बाक्लो बस्ती भएका रैथाने, थाङपालकोट र गुन्सालगायतका गाउँहरूमा पानीका परम्परागत स्रोत,मूलहरू पुरानै अवस्थामा कायम छन् । स्थानीयको आस्था र विश्वासले अहिलेसम्म रैथाने पोखरीको संरक्षण भइरहेको छ । स्थानीयकै आग्रहमा पाँच पोखरी थाङपाल गाउँपालिकाले पोखरी संरक्षणका लागि तारबार पनि लगाएको छ ।
तर ५० वर्ष अघिसम्म यो क्षेत्र वरिपरि ५३ वटा यस्तै साना ठुला पोखरी र आहालहरू थिए । पोखरी बनाउने र जोगाउने पुस्तैनी ज्ञान थियो । तर धेरै पोखरीमाथि अहिले विद्यालय भवन, सरकारी कार्यालय र निजी घरहरू बनिसकेका छन् । विगत सम्झँदै स्थानीय परे तामाङले भने, “गाउँले सिंगै बुढाबुढी बालबच्चा समेत आएर आल बार्ने बस्तुलाई नुहाउने पानी खुवाउने काम गरिन्थ्यो । गर्मीको बेला चैत बैशाखमा पनि त्यतिखेर त पोखरी थियो । अहिले त सुकिहाल्यो । अहिले त लथालिङ्ग छ । कता डोजरले जोत्ने कता केले जोत्ने कता केले जोत्ने भन्दा भन्दै पानी पनि छैन अहिले बेहालत भको छ ।”
यहाँका पोखरी र कुवाको पानीले कैयौँ पुस्ता हुर्के, बढेका छन् । पानीका मुहान संरक्षण कार्यमा सक्रिय रैथानेका सुन्दर सापकोटा ४० वर्षको भए । आफू ले बाल्यकालमा देख्दै आएका केही पोखरी क्रमशः हराउँदै गएको देखेका सापकोटालाई पानीको मूलका मुख्य स्रोतहरू यस्ता पोखरीलाई कसरी जोगाउने भन्ने चिन्ता छ । रैथाने पोखरी संरक्षण समितिका अध्यक्ष सापकोटा भन्नुहुन्छ, ” पोखरीको छेउछाउमा खेत आफै रस्सीएर ,सिमसार भएर आउँछ । अन्नबाली खेती बाली खडेरी पर्दा डाँडामा सुख्खा हुन्छ भने पोखरी तलका क्षेत्रमा हत्तपत्त सुक्दो रैनछ । यसले चारैतिर चिस्यान बनाउँदो रैछ । तर काठमाडौमा टुकुचा खोला पुरेर बस्ती बनाए । यो ठाउँमा पोखरी पुरेर खेतबारी बनाए । नापी नक्सा सबै प्रमाण पुगेको छ अनि झ्याम्म झ्याम्म पोखरी पुरेका छन् । यहाँका पोखरी त्यही भएर सक्केका हुन् । ”
यो भेगमा ५३ वटा पोखरी थियो । उमेरले चार दशक कटेकाहरूले ३० वटा पोखरीसम्म रहेको बताउँछन् । सापकोटा भन्नुहुन्छ, “अहिले यहाँका भुत्ते पोखरी , लामो पोखरी , न्युउरे पोखरी, भ्यागुते पोखरी जस्ता थुप्रै पोखरी छन् तर पनि रैथाने एउटा प्रसिद्ध चलेको भएर विनाश नभएको हो । यो त पाँच पोखरी जत्तिकै चलेको छ नि त ।” अधिकांश पोखरी सङ्कटमा रहेका छन् ।
मुहान संरक्षणको बेवास्ता
सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च, सिन्धुपाल्चोकले गरेको अध्ययनले बर्साद घट्ने क्रममा रहेको देखाएको छ । सिन्धुपाल्चोकको जलवायु मापन केन्द्रको तथ्याङ्क विश्लेषण गर्दा पनि औसत वर्षा १८.७५ मिलिमीटर प्रतिवर्षकादरले घटिरहेको देखाउँछ । झण्डै दुई लाख ६२ हजार जनसङ्ख्या रहेको सिन्धुपाल्चोकका अधिकांश गाउँ बस्तीमा पानीका मूल हराउँदै गएका छन् ।
तर मूल सुक्दा खानेपानीको समस्या भोग्न बाध्य जनसङ्ख्या कत्रो छ भन्नेसम्म पनि कतै अध्ययन भएको पाइँदैन । मूलको जलाधार क्षेत्र आहाल र परम्परागत पोखरीहरू विकासका नाममा नासिएका र पानीको मूलसँग पोखरी र आहालको सम्बन्धका ज्ञानलाई आधुनिक विकासका नाममा नास गरिएको विषयमा जिल्ला खानेपानी कार्यालयका पदाधिकारीहरू पनि सहमत छन् ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सिन्धुपाल्चोकका अनुसार वातावरणीय अध्ययन पश्चात् मात्रै ग्रामीण वा सहरी सडक आयोजनाको काम सुरु गर्नुपर्ने भए पनि अहिलेसम्म त्यस्तो कार्यक्रम छैन । पछिल्लो समय खानेपानीको मुहान हराउँदै जाँदा नयाँ मुहान खोजी गर्न खानेपानी योजनाको काम गर्न भन्दै नागरिकहरू कार्यालयमा पुग्ने गर्दछन् । यस्ता ठाउँमा करोडौँ बढी लागतमा लिफ्टिङ आयोजनाको काम हुन्छ तर पुराना पोखरी पुनःस्थापना, आकाशे पानी सङ्कलन, मूल पुनर्भरणका कार्यक्रम भने छैन ।
नेतृत्व र स्थानीयले पानीका मुहान संरक्षणको परम्पारगत ज्ञानलाई बेवास्ता गरी अयातित ज्ञानका आधारमा सबैले भन्ने गरेको विकासलाई रोजेको देखिन्छ । वातावरणीय, सामाजिक तथा आर्थिक प्रभावको अध्ययन बिनै विकासका नाममा पहाडमा डोजर चल्यो, पोखरी र आहाल क्षेत्रमा सिमेन्ट–कङ्क्रिटका पक्की संरचना निर्माण भएका छन् । बन जङ्गल फाडियो ।
२०४८ सालमा पहिलो पटक जग्गा नापी गर्दा जिल्लाका यस्ता पोखरीहरू व्यक्तिका नाममा नापिएको छ । अनि पोखरी मासेर खेती बाली लगाउन सुरु भयो । पहिले पानी जम्ने पोखरी माथि हिजोआज सडक,विद्यालय, खेल मैदान निर्माण भएका छन् । सरकारले ठूल्ठूला नदी तथा जलाधार केन्द्रित आयोजनामा लगानी बढायो । तर स्थानीय बासिन्दाको जीवनका वास्तविक आधार स–साना मुहानको संरक्षणका विषयमा कसैको ध्यान गएन । पहाडका धेरै गाउँका बासिन्दालाई केही समय दङ्ग पार्ने विकासले हिजोआज पीडा पनि दिन थालेको छ । पोखरी र आहालहरू मासिएर खानेपानीको स्रोत सुक्नाले जीवन निर्वाह अप्ठेरो बन्दै गएको छ ।
समस्या निकै जटिल बन्दै गएपछि अहिले सरकारी पक्षलाई पनि झड्का लाग्न थालेको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ भन्छन्, “हाम्रा पानीका मूल हराउँदै छन् । ऐतिहासिक पोखरी,कुँवा ,आललाई पुरानै स्वरुपमा फर्काउन हराइसकेका पोखरी ब्युँताएर संरक्षण गर्नु आवश्यक छ । पानी जोगिए मानिस जोगिन्छौँ । यो विषयमा अब हामी काम गर्न चाहान्छौँ ।”
स्थानीयले हिजोआज पानी पर्ने प्रवृत्तिमा निकै फरकपन महसुस गरेका छन् । पहिले जस्तो सिमसिमे वर्षा कम हुन थालेको छ । पानी आउँदा थोरै समयमा मुसलधारे पानी आउने, ह्वाल्ल बगेर जाने हुँदा जमिन मुनी पानी पुनरभरण हुन छोडेको छ ।
कृत्रिम पोखरी निर्माण
अरुको मुख ताक्दा आफैँ दुख पाइने भएपछि विगत पाँच वर्षदेखि चौतारा साँगाचोकगढी नगरपालिका स्थित गढीको डाडाँडामा स्थानीयले जमिनमा पानी पुनरभरणका लागि पानी जमाउन कृत्रिम पोखरी निर्माण अभियान सञ्चालन गरेका छन् । हालसम्म ससाना ४० वटा आहाल निर्माण भइसकेका छन् । उनीहरूले भल र आकासे पानी जम्मा गर्न जङ्गल क्षेत्रमा यी पोखरी निर्माण गरेका हुन् ।
एउटा पोखरीबाट भरिएर बगेको पानी अर्को पोखरीमा जाने गरी निर्माण प्रविधि पनि मिलाइएको छ । पानी संरक्षण अभियानका अगुवा तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ का वडाध्यक्ष रोशन गिरीका अनुसार साँगाचोक क्षेत्र सुनकोशि र ईन्द्रावती नदीले काटिएको र बिचमा एकदमै सुख्खा ग्रस्त क्षेत्र भएको डाँडा हो । यहाँ पानीको अलि बढिनै समस्या छ । सिँचाइको त कल्पना गर्न सकिने अवस्था नै भएन ।
वडाध्यक्ष गिरीले भने, “नेतृत्वमा दुई ओटा खानेपानीको मुहान दीर्घकालीन समाधानको लागी खरिद गरिएको थियो । त्यो पानी पनि ल्याउनलाई बजेट के के को समस्या परी रहने भएपछि मेरै घर छेउमा डाँडाको तल सडकको मुनि एउटा गोजि पधेरा छ । जुन पधेरा सुकि राखेको छ । त्यो पधेरालाई पुनर जिभित गर्ने गरी त्यसको माथिल्लो जलाधार क्षेत्रमा बर्खामा जमेको पानीलाई रिचार्ज गरेर जमिनमुनि पठाएर हेरौँ भनेर श्रमदानमा आधारित अभियान सुरु भयो । सुरुमा मान्छे आउन नमानेपछि पिकनिकको रूपमा बोलाएर कोदालो खन्ने चिज व्यवस्था गराएर हामीले सुरु गरेको अभियान अहिले विस्तार हुन पुगेको छ ।”
स्थानीयले पाँच वर्षदेखि डाँडा, डाँडामा पोखरी बनाएर पानी सङ्कलन गर्न थालेपछि अहिले यस क्षेत्रमा नयाँ नयाँ बिरुवाका प्रजातिहरू देखिन थालेका छन् । पहिले सुख्खा भएर कठाङ्ग्रिएका बिरुवाहरू हलक्क बढेको महसुस स्थानीयको छ । यही वडाकै मृत अवस्थामा पुगेको गोचे पँधेरामा दुई वर्षदेखि विगतको भन्दा ठुलो मूल फुटेको छ ।
स्थानीय विधिबाट बनाएका यस्ता पोखरी एक पटक निर्माण भएपछि ५० वर्षसम्म काम गर्ने अध्यक्ष गिरीको भनाई छ । खस्कँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट स्थानीय पीडित हुनु नपरोस् भनी पानी जम्मा गर्ने पोखरी निर्माण कार्य प्रभावकारी बन्न थालेपछि परम्परागत ज्ञानप्रति स्थानीयको विश्वास जागेको छ ।
जलवायु परिवर्तनलाई अनुकूलन गर्दै जीवन निर्वाहलाई सहज बनाउन हामी कहाँ भएका पानीका मुहानका स्रोत पोखरी र आहालहरू संरक्षण गर्नु बाहेक अर्को विकल्प छैन । परम्परागत ज्ञानको प्रभावकारी ढङ्गले प्रयोग गर्दै पानीका स्रोत संरक्षणको अभियान अघि बढाउन सके मात्र आत्मनिर्भर ढङ्गले स्रोत संरक्षण कार्यलाई निरन्तरता दिन सम्भव रहेको विज्ञहरूको तर्क छ ।