सद्यै पर्यटकले भरिभराउ सुकुटेलाई किन गरियो पर्यटकीय क्षेत्र घोषणा ?

होमपेज / समाचार /
६ बैशाख २०८२ (२ महिना अघि)

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटे क्षेत्रलाई औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गरेको छ । नगरपालिकाको आयोजनामा शनिबार सुकुटेमा विशेष कार्यक्रम आयोजना गरी औपचारिक घोषणा गरिएको हो । 
 
सद्यै पर्यटकले भरिभराउ सुकुटेलाई किन गरियो पर्यटकीय क्षेत्र घोषणा ?   
काठमाडौंबाट केवल ६५ किलोमिटर दूरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे क्षेत्र राजनीतिक कारणले पनि पटक–पटक चर्चामा रहँदै आएको छ । अझ नेता देखि कर्मचारी, पहुँचवाला देखि एनजीओ र आइएनजीओका कार्यक्रम र मध्यम वर्गका मानिसले साताको शुक्रबार र शनिबार रमाइलो गर्ने सिन्धुपाल्चोकको सुकुटेलाई राजधानीको ठमेल पनि भनिन्छ । 
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि आनन्द प्राप्तिको स्थल समेत बनेको छ, सुकुटे क्षेत्र । राजनीतिक तनाव बढेको बेला अनि प्रभावकारी निर्णय गर्न आफु सुकुटे पुग्ने गरेको प्रचण्डले बताउदै आएका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायिक रूपमा फस्टाइरहेको सुकुटे करिडोरलाई आधिकारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिदै आएका थिए । 

छोटो दूरीमा धेरै कुराको आनन्द र अनुभव लिन सकिने सुकुटेमा आउने पर्यटकहरु  बताउछन् । बगर मिचेर पैसा कमाएको भन्ने आरोप यहाँका व्यवसायीलाई लाग्दै आएको छ । तर सुकुटेमा पर्यटन ब्यवसाय फष्टाउदै गर्दा यहाँका होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड, यातायात सेवा जस्ता क्षेत्रहरूमा रोजगारीका अवसरहरू बढे ब्यवसायी महेन्द्र थापा बताउछन् । स्थानीय उत्पादनको प्रवद्र्धन देखि हस्तकला, स्थानीय खाना, कृषि उत्पादनजस्ता वस्तुहरूको माग बढ्नुका साथै पर्यटनसँग सम्बन्धित सेवाबाट सरकारले कर र सेवा शुल्कका माध्यमबाट आम्दानी गरिरहेको छ ।   

सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा संगै पर्यटन प्रवर्धनका लागि रणनीतिक योजन अघि सारेर दुनियाँ भरका नागरिकलाई आकर्षित गर्ने र आन्तरिक आम्दानी वृद्धि गर्न जोड दिने लक्ष्य रहेको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा सद्यै पर्यटकले भरिभराउ सुकुटेलाई  पर्यटकिय क्षेत्र घोषणा गर्नुको कारणबारे भन्छन्, “ बाटो, पुल, बिजुली, खानेपानी, सञ्चार सुविधा आदिको विकासमा सरकार तथा निजी क्षेत्रको लगानी बढाउन यो घोषणाले सहयोग पुग्छ ।” पूर्व मन्त्री युवराज दुलालले ऐतिहासिक, धार्मिक, तथा सांस्कृतिक सम्पदाहरूको संरक्षणमा ध्यान दिने देखि स्थानीय संस्कृति र परम्पराको प्रचार–प्रसार देखि शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक सेवाहरूमा सुधार ल्याउने सम्भावना बढ्ने बताउछन् ।  

पर्यटकिय क्षेत्र घोषणाले क्षेत्रीय तथा राष्ट्रिय पहिचान अन्तर्राष्ट्रिय रूपमा फैलाउन सरकारलाई जिम्मेवार बनाउन दायित्वबोध गराउँछ ।  पर्यटकिय क्षेत्र घोषणा संगै सुकुटे करिडोर क्षेत्रको पूर्वाधार विकास, सेवा विस्तार र व्यवस्थापनलाई ध्यानमा राख्दै योजनाबद्ध कार्यक्रमहरू सञ्चालन हुने कुराले व्यवसायीहरुमा उत्साह थपेको छ । 

अब त यो क्षेत्रलाई सरकारले समेत केन्द्रमा राखेको भन्दै चीनसँगको अन्तर्राष्ट्रिय मार्ग कोदारी, छिमेकी जिल्ला दोलखाको कालिञ्चोक र भर्खरै खुला गरिएको जुगल हिमाल आरोहणमा आउने पर्यटकको ट्रान्जिट प्वाइन्ट सुकुटे बनाउन कार्यक्रम बनाउनुपर्ने सुकुटे बीचका सञ्चालक समेत रहेका सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापा बताउछन् ।
IMG_61751745071352.JPG 
यसकारण पुग्छन् पर्यटक सुकुटेमा   
सिन्धुपाल्चोकको सुकुटे हाल ¥¥याफ्टिङ, नदी किनारको रमणीय वातावरण, रिसोर्ट सेवा, पहुँच योग्य भौगोलिक स्थिति र विविध मनोरञ्जनात्मक गतिविधिहरूका कारण लोकप्रिय गन्तव्यको रूपमा स्थापित भइसकेको छ । विशेषतः अरनिको राजमार्गसँगै र सुनकोसी नदीको किनारमा अवस्थित यस क्षेत्र पर्यटकहरूका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यको रूपमा विकास हुँदै गएको हो । हाल सुकुटे करिडोरमा करिब दुई दर्जन रिसोर्ट तथा पर्यटन सेवाप्रदायक संस्थाहरू सञ्चालनमा छन् । 

पर्यटकीय केन्द्र सुकुटेमा ¥याफटिङ, स्काई साइक्लिङ, प्याराग्लाइडिङ देखि जेट बोटसम्मको मज्जा लिन पाईन्छ । यहाँ ठूला र साना होटेलमा पाँच सय मानिसले रोजगारी गर्छन् । सिजनमा दैनिक एक हजारभन्दा बढीले ¥¥याफ्टिङ गर्छन् । साहसिक खेलमा सयभन्दा बढी युवा रोजगार छन् । सिजनमा एउटै रिसोर्टमा दैनिक १५ सयसम्म पर्यटक आउने ब्यवसायी बताउछन् । 

491206776_2108449746294759_8539319671102426527_n1745071393.jpg

तामझामका साथ सुकुटे पर्यटकिय क्षेत्र घोषणा
संघीय संसदका पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शनिबार सुकुटेमा आयोजित एक समारोहका वीच सुकुटे करिडोर क्षेत्रलाई औपचारिक रुपमा पर्यटकी क्षेत्र  घोषणा गरेका छन् । 

सभामा पूर्व मन्त्री  युवराज दुलाल,  नेपाल सरकारका पूर्व सचिव पुण्यप्रसाद न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले मन्तव्य राखेका थिए ।

त्यसैगरि नेकपा एमालेका नगर अध्यक्ष दीपक नेपाल, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष ध्रुब  दंगाल , सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापाले मन्तव्य राखे भने नगरपालिकाका उपप्रमुख सीता थापाले स्वागत मन्तव्य राखेको थिईन् । घोषणा सभामा स्थानीय झाँक्री तथा धिमे बाजा बजाएर मनोरन्जन प्रदान गरिएको थियो ।  

यस्तो छ १५ बुँदे गुरु योजना 

१) सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन २०७६५ फागुनमा सम्पन्न प्रथम सुकुटे महोत्सव, पर्यटन व्यवसायीगंग नगरपालिकाको पटक पटक छलफल, सिन्धु सुटे पर्यटन व्यवसायी संघको संयोजनमा २०८१ मा भएको राष्ट्रिय बिच भलिवल प्रतियोगितामा भएका निचोडहरुलाई समेत आधार मानी यो निर्णय गरिएको हो ।

२) होटन, रिसोर्ट तथा पर्यटनसंग सम्बन्धित व्यवसायलाई दिगो संचालनका लागि नीति निर्माण गरी स्थानीय तह मार्फत नियमन गरिनेछ । सुकुटे क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्न आगामी नगर सभावाट कानून निर्माण गरी गुटे पर्यटन विकास समिति गठन गरी उक्त समितिलाई पर्यटन शुल्क उठाउने र त्यसलाई सुकुटेको पर्यटकीय पूर्वाधार विकासमा खर्च गर्न पाउने गरी व्यवस्था गरिनेछ ।
३) प्रत्येक वर्ष नगरपालिकाले बजेट विनियोजन गरी सुकुटे क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गर्नेछ ।
४) सुकुटेमा कृषि संकलन केन्द्र निर्माण आसपासका क्षेत्रका कृषिजन्य बस्तु संकलन गरी कृषकका उत्पादन संकलन गरी सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको समन्वयमा सुकुटे क्षेत्रका होटल तथा रिसोर्टमा खपत गराइने नीति लिइनेछ ।
५) नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियान सहित जैविक विविधता र पर्यावरण संरक्षण गरिनेछ साथै निश्चित क्षेत्रलाई ¥याफ्टिङ जोनको रुपमा विकास गरी नदीजन्य उत्खननलाई वैज्ञानिक व्यवस्थापन गरिनेछ ।
६) स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनेछ, साथै होटल तथा रिसोर्टका मेनुमा पनि स्थानीय परिकारलाई समावेश गरिनेछ ।
७) व्यवसायीको लगानी सुरक्षित गर्न लगानी मैत्री वातावरण सिर्जना गरिनेछ । विशेषगरी लगानीका लागि चाहिने सुरक्षा र विश्वासको परिस्थिति बनाइनेछ ।
८) सुकुटे जलबिहारको सुन्दर हब भएकाले यसलाई आधार मानेर नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको प्याकेज तयार गरी प्रचार प्रसार गरिनेछ ।
९) पर्यटकीय क्षेत्रमा आवश्यक पुर्वाधारहरु जस्तैः बञ्जीजम्प, स्काई साइक्लिङ, जिपलाईनहरु निर्माण गरी पर्यटकहरुलाई थप समय यस क्षेत्रमा व्यतित गर्ने व्यवस्था गरिनेछ ।
१०) छिमेकी पालिका सुनकोशी, बलेफी र जुगलको साझेदारीमा पर्यटकीय पूर्वाधारहरु विकास गर्न पहल गरिनेछ ।
११) पर्यटन सूचना केन्द्र निर्माण गरी नगरपालिकाका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने व्यवस्था सरिनेछ ।
१२) मुकुटे क्षेत्रको सुरक्षालाई ध्यानमा राखी नगर प्रहरीको व्यवस्था गरिनेछ ।
१३) जुगल हिमाल लगायत जिल्लाका अन्य पर्यटकीय क्षेत्रका प्रवेशद्वारका रुपमा सुकुटे क्षेत्रलाई प्रवद्र्धन गरिनेछ ।
१४) बलेफीमा पर्यटन विभागको सहयोगमा निर्माणाधिन व्याफ्टिङ्ग विद्यालयको निर्माण समयमा नै सम्पन्न गरी दक्ष जनशक्ति उत्पादन गर्न स्थानीय सरकारने समन्वय गर्नेछ ।
१५) सुकुटे क्षेत्रमा पर्यटन प्रवद्र्धनका एकीकृत कार्यकम अघि बढाउन सरोकारवाला सबैको सामुहिक प्रयासमा जोड दिइनेछ ।

अन्तिम अध्यावधिक: १२ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस