सिन्धुपाल्चोक । पुस–माघदेखि आगलागी र डढेलोका घटना बढ्न थाल्छन् । यो क्रम विस्तारै चैत, वैशाख र जेठमा उच्च हुन्छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पनि यो समय बढी हावाहुरी चल्ने, सुख्खा मौसम हुने कारण आगलागीका घटना बढी हुने गर्छन् । विगतमा आगलागी तथा डढेलोको बाट सखाप बन्ने गरेको सिन्धुपाल्चोकमा डढेलो रोक्न ५० बढी वनमा अग्निरेखा निमार्ण गरिएको छ ।
गर्मीयाम सुरु भएसँगै सिन्धुपाल्चोकको ५० बढी सामुदायिक वनले अग्निरेखा निर्माण गरेका छन् । डिभिजन वन कार्यालय सँगको समन्वय तथा स्थानीयको श्रमदानमा हरेक सामुदायिक वनमा कम्तीमा २ किलोमिटर क्षेत्र सम्म कम्तीमा ४ मिटर सम्मको चौडाई राखेर अग्नी रेखा बनेका छन् । अग्नी रेखाले वनमा आगो लागि हाले पनि आगो नियन्त्रण गर्न सजिलो हुने र अन्य विरुवामा नोक्सान नपुग्ने कल्लेरी सामुदायिक वनको उपभोक्ता बेनिसा विकको भनाई छ ।
सामुदायिक वनका पदाधिकारी र स्थानीयलाई डढेलो रोक्ने घटना अभ्यास र लाग्न नदिन अपनाउनुपर्ने विधि, पूर्व सूचनाबारे हरित स्वयंसेवक र सव–डिभिजन वन कार्यालयहरुले वन क्षेत्रमानै पुगेर प्रशिक्षण दिने क्रम जारी छ ।
कल्लेरी सामुदायिक वनको उपभोक्ता शारदा थापा श्रेष्ठ अग्निरेखा बनाउने तरिका संगै सरसफाई पनि गर्ने गरेको बताउँछिन् । स्थानीयले अग्निरेखा निर्माण र डढेलोमा अत्यावश्यक सामान तथा उपकरण संगै डढेलो निभाउने सिप जान्न पाएका छन् । अभियानमा स्थानीयलाई साथ दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि सहभागी भईरहेका छन् । आगलागी र डढेलोका कारण विगतमा वर्षमा सखाप हुने वन मध्य चैत्र सम्म जोगिएपछि सांसारिक सामुदायिक वन, ईर्खुकी उपभोक्ता कमला गिरीले खुशी ब्यक्त गरिन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार अहिलेसम्म गौरीशंकर संरक्षण केन्द्रमा पर्ने भोटेकोशी, त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रसहित जुगल, लिसखु गाउँपालिका गरी एक दर्जन वनक्षेत्रका ८२ हेक्टरभन्दा बढी वन डढेलोले नष्ट भएको छ । आगलागीमा मानवीय क्षति नभएको र हाल सबै वनमा आगो नियन्त्रणमा आइसकेको छ । सिन्धुपाल्चोकमा विगतका वर्षमा वनमा डढेलो लाग्दा हरित स्वयंसेवक र सुरक्षाकर्मीको अग्रसरतामा नियन्त्रणमा ल्याएपनि स्थानीयको सहभागीता न्युन रहन्थ्यो । तर यो वर्ष आगलागी तथा डढेलोका घटना हुनै नदिन र भइहालेमा पनि जोखिम कम गर्न समुदायको सहभागीतामा बनेको अग्नी रेखा प्रभावकारी बनेको डिभिजन वन कार्यालय, सिन्धुपाल्चोकका रेन्जर कमला श्रेष्ठ बताउँछिन् ।
गाउँमा घरहरू पातलिँदा र अन्यत्र बसाईसराईं हुँदा जंगलमा रहेको पातपतिङ्गरको प्रयोग हुन छाडेको छ । जसकाकारण जंगलमा पातपतिङ्गर थुप्रिने क्रम बढ्दो छ र आगलागीका सम्भावना बढेको छ । यस्तो बेला डढेलो रोक्न वनमा बन्ने अग्निरेखा प्रभावकारी देखिएको छ तर स्थानिय तहले यो विषयमा चासो कम दिएको गुनासो अभियानमा लागेकाहरु बताउँछन ।