चौतारा । सिन्धुपाल्चोकको चौतारामा राष्ट्रिय भलिबल प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ । शुक्रबार देखि ६ दिनसम्म चल्ने प्रतियोगिता तीन लाख राशि पुरस्कार भएको राष्ट्रिय भलिबल प्रतियोगिता हो ।
प्रतियोगिताको उदघाटन् विहान ८ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ टोलीले सहभागिताका लागि टिम दर्ता गराएको आयोजकले जनाएको छ। नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश र जुगल होराइजन सिन्धुपाल्चोक गरी ७ टोली प्रतियोगितामा सहभागी बन्दै छन् ।
तोप–२१ चौताराले आयोजना गरेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यो प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता हो । प्रथम हुने टोलीले नगद तीन लाख रुपैयाँ सहित ट्रफी र मेडल पुरस्कार पाउनेछ । दोस्रो हुनेले एक लाख पचास हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछ ।
उत्कृष्ठ खेलाडीलाई २० हजार,उत्कृष्ठ स्पाइकरले १० हजार,उत्कृष्ठ सटरले १० हजार,उत्कृष्ठ ब्लकरलाई १० हजार तथा उत्कृष्ठ लिब्रोले १० हजार पाउने आयोजकले जनाएको छ । नेपाल भलिवलसंघ,जिल्ला भलिबल संघ सिन्धुपाल्चोक तथा जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको प्राविधिक सहयोग तथा समन्वयमा प्रतियोगिता हुन लागेको हो ।
यो प्रतियोगिता संचालनको लागि टुडिखेलको मैदान ब्यवस्थापन गरिएको जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालको भनाई छ ।