चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५, बलेफी खोलाको किनारमा नेपालकै पहिलो राफ्टिङ स्कुल निर्माण भइरहेको छ । पर्यटन विभागको आर्थिक सहयोगमा १३ करोडको लागतमा निर्माण भइरहेको यो स्कुलको ९८ प्रतिशत काम पूरा भएको हो ।
नेपालमा साहसिक पर्यटनको प्रवद्र्धन, व्यावसायिक गाइड उत्पादन, तथा जल खेलकुद प्रशिक्षण दिने उद्देश्यले स्थापना गरिएको यो स्कुल एसियाकै पहिलो पूर्ण रूपमा राफ्टिङ तथा जल खेलकुद प्रशिक्षण केन्द्र बन्ने तयारीमा छ । सिन्धु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष नारायण श्रेष्ठको परिकल्पनामा निर्माण भइरहेको यो स्कुल नेपालका लागि ऐतिहासिक उपलब्धि बन्ने बताइएको छ ।
निर्माण पक्षका अनुसार फागुन महिनाभित्रै यसको उद्घाटन गरिने तयारी छ । यो राफ्टिङ स्कुल खेलमैदानका लागि छुट्याइएको जग्गामा निर्माण गरिएको हो । यहाँ राफ्टिङ, कायाकिङ, जल उद्धार, तथा अन्य जल खेलकुदको प्रशिक्षण प्रदान गरिने यसका परिकल्पनाकार नारायण श्रेष्ठ बताउछन् ।
राफ्टिङ स्कुलबाट बेसिक , एडभान्स र गाइड ट्रेनिङ प्रशिक्षण संचालन हुने छ । यस्तै सुरक्षा सम्बन्धी लाइफ ज्याकेट, हेल्मेट, र अन्य सुरक्षा उपकरणहरूको सही प्रयोग ,डुङ्गा पल्टिएमा वा बगेमा के गर्ने भन्ने बारे प्रशिक्षण दिइने छ । नदीको बहाव, जोखिमयुक्त क्षेत्रहरू, तथा उद्धार रणनीतिहरूको जानकारी स‘हित व्यावसायिक राफ्टिङ गाइड तयार पार्ने गरी कक्षा संचालन हुने छ ।
यसले नेपाल र अन्तर्राष्ट्रिय स्तरमा काम गर्न सक्ने पेशागत गाइडहरू उत्पादन गर्नुका साथै राफ्टिङ गाइडका लागि आवश्यक प्रमाणपत्र तथा अन्य आवश्यक कागजात प्रदान गर्ने छ ।
सन् २०१८ मा बलेफी खोलामा ह्वाइट वाटर च्यालेन्ज आयोजना गरिएको थियो, जसले यो क्षेत्रलाई साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गरेको सिन्धु पर्यटन व्यवसायी सङ्घको भनाई छ । यो प्रतियोगिता नेपालकै राफ्टिङ र कायाकिङ खेलाडीहरूका लागि ऐतिहासिक अवसर बनेको थियो।
राफ्टिङ स्कुल निर्माणको महत्व
नेपालमा साहसिक पर्यटनको ठूलो सम्भावना छ । हिमालबाट बग्ने चट्टानी नदीहरूका कारण नेपालमा राफ्टिङ, कायाकिङ, र अन्य जल खेलकुदको लागि उत्कृष्ट अवसरहरू छन् । यसले नेपालमा साहसिक पर्यटन बढ्दै गएकाले व्यावसायिक गाइडहरू उत्पादन गर्नुका साथै नेपालमै तालिम लिई विदेशमा पनि गाइडका रूपमा काम गर्न सकिनेछ ।साहसिक खेलकुद र पर्यटनको विकासले स्थानीय व्यवसायहरूलाई चलायमान बनाउनेछ ।
सिन्धु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष नारायण श्रेष्ठको भूमिका
सिन्धु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष नारायण श्रेष्ठ नेपालका अग्रणी साहसिक पर्यटन व्यवसायीमध्ये एक हुन् । राफ्टिङ एसोसिएसन नेपालका पूर्व महासचिव भएर काम गरिसकेका श्रेष्ठ नेपालमा साहसिक पर्यटन प्रवद्र्धनका लागि समर्पित व्यक्तित्व हुन् । ह्वाइट वाटर च्यालेन्ज २०१८ आयोजना गर्ने महत्वपूर्ण व्यक्ति मध्ये श्रेष्ठ एक हुन् । राफ्टिङ स्कुल स्थापना गर्ने परिकल्पना नारायण श्रेष्ठकै हो, जसले नेपाललाई साहसिक पर्यटनमा नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
नेपालकै पहिलो पूर्ण रूपमा जल खेलकुद तालिम प्रदान गर्ने स्कुल, १३ करोडको लगानीमा निर्माण गरिएको ठूला पूर्वाधारहरूमध्ये एक भएकोले राफ्टिङ स्कुलको सम्भाव्यता र भविष्य रहेको जानकार बताउछन् ।
एसियाकै पहिलो राफ्टिङ स्कुल भएकोले यसले अन्तर्राष्ट्रिय स्तरका गाइड उत्पादन गर्ने अपेक्षा गरीएको छ । सिन्धुपाल्चोकमा निर्माण भइरहेको राफ्टिङ स्कुल नेपालकै साहसिक पर्यटन विकासमा कोशेढुंगा सावित हुनेछ। यसले व्यावसायिक गाइड उत्पादन, उद्धार तालिम, र साहसिक खेलकुदलाई प्रवद्र्धन गर्नेछ ।
ह्वाइट वाटर च्यालेन्ज २०१८ को सफलताले यो क्षेत्रलाई पहिचान दिलाएझैं, राफ्टिङ स्कुलको स्थापना नेपाललाई अन्तर्राष्ट्रिय साहसिक पर्यटनको केन्द्र बनाउने दिशामा महत्वपूर्ण कदम हुने श्रेष्ठ बताउनुहुन्छ ।