पाठेघरको मुखको क्यान्सर रोक्न सिन्धुपाल्चोकमा १० हजार ४ सय किशोरीलाई एचपिभि खोप दिइने

होमपेज / समाचार /
२ सय ३ विद्यालयमा खोप केन्द्र रहने
१५ माघ २०८१ (४ महिना अघि)

चौतारा ।  सिन्धुपाल्चोकमा १० हजार ४ सय जना किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप दिइने भएको छ । १२ वटा स्थानीय तहका विद्यालयमा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई खोप लगाउने जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईंले बताईन् । यसका लागी १२ हजार भाइल एचपीभी खोप चौतारामा आइपुगेको छ ।

खोप अभियानको तयारीबारे सोमबार जिल्ला स्तरको सरोकारवाला सँग गरीएको छलफलका क्रममा २ सय ३ तालिम प्राप्त स्वास्थ्यकर्मी र ४ सय ६ स्वमसेवकले जिल्लाभर २ सय ३  विभिन्न विद्यालयमा रहेको खोप केन्द्रबाट सेवा दिने जनाइएको छ ।

सिमान्तकृत, सिमा क्षेत्र, प्राकृतिक प्रकोप, विकट क्षेत्र, धार्मिक विद्यालय, आश्रम र फरक क्षमताका किशोरीलाई पनि समुदायमा पुगेर विशेष प्राथमिकताका साथ माघ २२ देखि २९ गतेसम्म खोप अभियान सफल बनाउने गरी तयारी भएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको हो । परीक्षणको लागी खोप आएको भन्ने भ्रामक सूचनाको विश्वास नगर्न अनुरोध गर्दै जनस्वास्थ्य प्रमुख बजगाईंले एचपिभि खोप एक दशक देखि विकसित देशले सफलताका साथ  प्रयोग गर्दै आएको बताईन् ।   

यसैबीच एचपिभी खोप अभियानबारे चौतारा साँगाचोक गढी नगरपालिकाको स्वास्थ्य शाखाले समेत अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी गरेको छ ।
नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले पाठेघरको मुखको क्यान्सरको जोखिम शहर देखि विकट गाउँमा बढी हुनसक्ने र त्यहाँसम्म खोप अभियान संगै चेकजाँच पनि हुनुपर्ने बताए । पाठेघरको मुखको क्यान्सर हुने समस्या गम्भिरताका साथ लिनुपर्ने र महिलाहरुले यसबारे खुलेर बताउने, उपचार गर्न पनि अग्रसर हुनुपर्ने उनको भनाई थियो ।

अभियान बारे बोल्दै प्रादेशिक चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। रुद्रमणि भण्डारीले खोप सुरक्षित रहेकाले नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन अनुरोध गरे । पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु हुने भएकाले खोप जरुरी रहेको डा. भण्डारीले बताए ।

उपमेयर सिता थापाले नगरपालिकाले समय समयमा पाठेघरको परिक्षण शिविर समेत सञ्चालन गर्दै आइरहेको जानकारी दिइन् । १३ नं का वडाध्यक्ष रामप्रसाद गौतमले  जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, शिक्षक लगायतका सहायताले सबै बालिकाहरुलाई खोप अभियानमा सहभागि गराई खोप लगाइने बताए ।

जिल्लाभर खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मी, स्वास्थ्य सँस्था, चौतारा अस्पताल,जनस्वास्थ्य कार्यलय र खोप समन्वय समितिले  तयारी गरीरहेको छ ।  

अन्तिम अध्यावधिक: १५ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस